वीरगञ्ज, २८ असोज। वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरको प्राङ्गणमा आज बिहान पूजा गर्न गएकी एक महिलाको घाँटीबाट सुनको सिक्री चोरी भएको छ। वीरगञ्ज महानगरपालिका–१३, राधेमाई निवासी बबिता देवी पूजा गर्न मन्दिर पुगेकी थिइन्। बिहान पूजाका लागि लागेको भीडमा लाइनमा बसेका बेला उनको घाँटीबाट सुनको सिक्री चोरी भएको बताइएको छ। घटनाको दृश्य मन्दिर परिसरमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। उक्त दृश्यको आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। धार्मिक स्थलमा समेत भीडको फाइदा उठाउँदै चोरीका घटना हुन थालेपछि श्रद्धालुहरूलाई आफ्नो गरगहना तथा बहुमूल्य सामानप्रति सचेत रहन आग्रह गरिएको छ।