काठमाडौं २२ कात्तिक ।
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ।
आइतबार बिहान पिच सडकबाट करिब दुई मिटर तल नालीमा अनियन्त्रित भई खसेको अवस्थामा पल्सर मोटरसाइकल र चालक लामिछाने मृत भेटिएपछि स्थानीय वृत्तमा त्रास फैलिएको छ।
विद्यालय नजिकै क्षतविक्षत अवस्थामा मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ पुगेको प्रहरी टोलीले खोजी गर्दा निर्माणाधीन पर्खालको नालीभित्र लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो। लगत्तै पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेको हो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा टोली खटाइएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले सूक्ष्म अनुसन्धान र थप प्रमाण संकलनका लागि तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालका अनुसार प्रारम्भिक अध्ययनले मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत गरे पनि घटनाको वास्तविक कारणबारे थप प्राविधिक तथा अनुसन्धानमूलक विधि अपनाएर गहन छानबिन भइरहेको छ।
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।